आइतबार, मङ्सिर २४ गते ।

मकवानपुर । सुदुरपश्चिम कंचनपुरका गायक मकर बहादुर योञ्जनले “द भ्वाइस अफ नेपाल” सिजन ५ मा राजेशको टिमबाट लाईभ राउन्डमा प्रवेश पाएका छन् । शनिबार भएको नकआउट चरण पार गर्दै योञ्जनले लाईभ राउन्डमा प्रवेश पाएको हो ।

“द भ्वाइस अफ नेपाल” सिजन ५ हिमालयन एचडी टेलिभिजनमार्फत हरेक हप्ता शुक्रबार र शनिबार प्रसारण भईरहेको छ । शनिबार भएको नकआउट चरण प्रतिस्पर्धामा जजाका कुर्सीमा बसेका राजेश पायल राई, उदय सोताङ्ग, प्रमोद खरेल र मिलन नेवारले आफू बसेको कुर्सीबाट उठेर योञ्जनको गायन क्षमताको मुक्त कण्ठले प्रशंसा गरेका थिए । अहिले देशदेखि बिदेशसम्म पनि योन्जनले निक्कै चर्चा बटुलिरहेको छ ।

पुर्नवास नगरपालिका २ दशरथ बस्तीका स्थायी बासिन्दा गायक योञ्जन अहिले भने काठमाडौंमा संघर्षरत छन् । पुर्नवास ३ स्थित जनकल्याण मा.बि. बाट अध्ययन गरेका योञ्जनले भारतको सुरत शहरबाट संगितमा स्नातक गरेका छन् । भारतमा लामो समय संगितमा साधना गरेपछि आफ्नै देशमा केहि गर्ने योजना बनाएर फर्केका याेञ्जन हाल काठमाडौंमा बसि गायन कर्मलाई निरन्तरता दिईरहेका छन् ।

आमाबाबुको मृत्यु र कम्जोर आर्थिक अवस्था जस्तो कठिन परिक्षाहरु पार गर्दै गायन यात्रालाई अगाडि बढाईरहेका गायक योञ्जन संगितलाई नै सम्पुर्ण थोक सम्झिन्छन । बेलाबेलामा आफ्नो गाउँ पुर्वबास आएर आफ्नो बाल्यकालका साथीसंगीहरुलाई भेट्न रुचाउने गायक योञ्जनले सुदुरपश्चिम बासी र सम्पुर्ण नेपालीहरुबाट साथ सपोर्ट पाउने आशामा छन् ।