सोमबार, मङ्सिर २५ गते ।

मकवानपुर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न सकिन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र ? भन्ने पनि लाग्छ ।

आफूलाई ‘लेडी ड्रयागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हुन् जो पुरुषसँगै खेल्छिन् । उनले महिला रेस्लर भन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आईरहेकी छन् । खोटाङको दिक्तेलमा जन्मेकी मुना नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारेकी छिन् ।

‘रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभइ पूरै वास्तविकता हुन्छ’, नेपाली रेस्लर मुनाको भनाई छ । महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको बताउँछिन् ।

सन् २०१७ देखि खेल्न सुरु गरेकी मुना श्रेष्ठले विशेषता तीन विधामा रेस्लिङ खेल्दै आईरहेकी छिन् । यसमा हार्डकोर (साइन गरेर खेल्ने), फायर म्याच (आगोमा खेल्ने) र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नु पर्ने उनको अनुभव छ ।हाम्रो नेपाली समाजमा पुरुष भन्दा महिला केहीमा कम छैनन् भन्ने उदाहरणीय कामका लागि पनि पुरुष रेस्लरसँग बढी खेल्ने गरेको मुनाको भनाइ छ ।

हार्डकोर, फायर म्याच र ब्लड म्याच विधाको खेलमा पुरुष रेस्लरसँगै खेल्दै आईरहेकी छिन् । उनको अनुभव छ कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उनी पुरुषसँग बढि खेल्नु पर्ने हुन्छ । विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् । हार्डकोर मनोरञ्जन भन्दा वास्तविक हुन्छ र यो कठिन पनि हुन्छ । यस खेल खेल्नु अघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गरेको हुन्छ ।

‘रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनु पर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छन । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्’, मुना सुनाउछिन् । कतिपय खेलमा त रगतको धारा बगेको र त्यो निको हुन महिनौसम्म लागेको अनुभव पनि उनीसँग छन् । यसका बाबजुद पनि देशको नाम राख्न हरदिन मेहनत गर्छिन् । मुनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भेट्टाएसम्म छोड्ने गरेका छैनन् ।
 
सन् २०१७ मा आफूले रेस्लिङ सुरु गरे भएपनि विभिन्न प्राविधिक समस्याहरुले गर्दा अगाडि बढ्न नसकेको उनी बताउँछिन् । धेरै बाधा अड्चनका बाबजुद रेस्लिङलाई नै अगाडि बढाउँछु भन्ने दृढ विश्वासका साथ उनले सन् २०१९ मा आफ्नै नाममा युडब्लुइ (अल्टिमेट रेस्लिङ इन्टरटेन्मेन्ट) कम्पनी खोलेर रेस्लिङलाई निरन्तरता दिइन् । हाल उनको कम्पनीमा १९ जना महिला रेस्लर छन् । ‘आफू भन्दा धेरै उचाइ र तौल भएको पुरुष खेलाडीसँग खेल्न गाह्रो नै हुन्छ । शरीरका जुनसुकै भागमा पनि प्रहार गर्न सक्छन् । कतिपय खेलमा त दुई मिनेटसम्म बेहोस भएको स्थिति पनि छ तर दर्शकको हुटिङले गर्दा उठेर त्यस खेलाडीलाई पराजित पनि गरेको छु’, उनी स्मरण गर्छिन् ।

खेल खेल्दा महिला पुरुष भन्ने हुँदैन छातीमा बुटले पनि हानी रहेको हुन्छ र आफूले पनि प्रहार गरिरहेको भएर खेल खेल्दा यो महिला त्यो पुरुष भन्ने फिल नै हुँदैन’, उनी सुनाउछिन् । साथै अबको ६/७ वर्षसम्म रेस्लिङलाई नै निरन्तरता दिने मुनाको इच्छा छ । बाबा–आमाकी कान्छी सन्तान उनले नेपाली रेस्लर बन्ने प्रेरणा भने आफ्ना बुवाबाट प्राप्त भएको बताउँछिन् । बच्चैदेखि खेल क्षेत्रमा अग्रसर रहने उनी विद्यालयमा दौड, हाइजम्प लगायत खेल्ने गर्थिन् । देशमा माओवादी द्वन्द्व सुरु भए पश्चात उनी पनि भूमिगत भएकी थिइन् । त्यतिबेला समय र परिस्थितिका कारण घर छाड्न बाध्य भएको उनको भनाइ छ । भूमिगत भएपछि उनका सङ्घर्षका दिनहरू सुरु हुन थाले र माओवादी लडाकु बन्दै जनयुद्धको बेलामा कैयौँ भिडन्तमा ज्यान जोगाउन मुस्किल परेको उनी सम्झन्छिन् ।
 
दुईवटा बच्चाकी आमा भएर पनि उनका सङ्घर्षका दिनहरू निकै कठिन छन् । कतिपय अवस्थामा घरमै शारीरिक र मानसिक लगायतका यातना भोग्न बाध्य भएकी उनले बुवाआमाको इज्जतका लागि पनि अनेक खालका हिंसा सहेर बसेको सुनाउछिन । त्यस्तै मुनासग जीविकोपार्जनका लागि श्रम गर्न खोज्दाका अप्ठेराहरु कयौं छन् । ती अनेकौं चुनौतीका बाबजुद पनि सङ्घर्ष गरेर आज आफ्नो देशको नाममा, देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जित्न सक्ने एक खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सकेकामा उनी दङ्ग छिन् । आफूलाई बलियो बनाएर समाज र देशका लागि केही गर्छु भनेर रेस्लिङ क्षेत्रमा लागेकाले आज आफ्नो र देशको नाम राख्न सकेको उनले सुनाईन । यहि खेलकै माध्यमबाट देश विदेशमा आफ्नो नाम चिनाउन पाउँदा गर्वको महसुस हुने गरेको साथै आफूले विगतमा भोगेका कयौं हिंसा र अप्ठेराहरुलाई समेत बिर्सने गरेको उनको भनाइ छ ।