बुधबार, मङ्सिर २७ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिका ५ मा रहेको दक्षिणकाली सामुदायिक वन उपभोक्ता समुहको २२औँ साधारण भेला सम्पन्न भएको छ । समुहका अध्यक्ष रमेश प्रजाको अध्यक्षता र सब डिभिजन वन कार्यालय राक्सिराङ्गका वन अधिकृत सुजन मोक्तानको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा संस्थाको कोषाध्यक्ष मेघनाथ वाइबाले आर्थिक प्रतिवेदन र अध्यक्ष रमेश प्रजाले प्रगति प्रतिवेदन तथा अगामी बर्षको बार्षिक कार्ययोजना प्रस्तुत गरिएको थियो । उपभोक्ता र उपस्थित सहभागीहरुबीच छलफल र अन्तरक्रिया गरिएपछि प्रतिवेदनहरु पारित गरिएको थियो ।

भेलामा राक्सिराङ्ग गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रमान प्रजा, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ्गका अध्यक्ष सन्तोष थापा, छिमेकी वन समुहका अध्यक्षहरु, राक्सिराङ्ग गाउँपालिकाका वन प्राविधिक अनुप पोखरेल लगायतको अतिथ्यता रहेको थियो ।

घाँस, दाउरा र अन्य काठका लागि वन क्षेत्रमा हुने अतिक्रमण रोक्न सबै एकजुट भएर लाग्नु पर्ने सहभागीहरुले आवाज उठाए । वन क्षेत्रमा अनाधिकृत गतिविधि गरेको पाइएमा वन कार्यालयमा उजुरी दिन सकिने वन अधिकृत सुजन मोक्तानले जानकारी दिए ।

साथै अतिथिहरुले वनको संरक्षणमा समुदायको भुमिका महत्वपुर्ण हुने भन्दै समुदाय नै जागरुक हुनु पर्नेमा जोड दिएका थिए । मानिसको जीवन नै वनमा आश्रित हुने भएकाले वनको संरक्षणसँगै व्यवस्थापनमा लाग्न सबैले आग्रह गरे ।