मकवानपुर । राक्सिराङ्ग गाउँपालिकामा सञ्चालित मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्तर्गत मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि क्रियाकलापहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नारी सीप सिर्जना केन्द्र नेपालले सो परियोजनाअन्तर्गत सञ्चालन भइरहेको विभिन्न गतिविधि र क्रियाकलापका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्न तथा जिज्ञासाका बारेमा गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष, सामाजिक बिकास शाखा प्रमुख, शिक्षा शाखा प्रमुख तथा सुरक्षा निकायका प्रमुखले जवाफ दिएका थिए । गाउँपालिकामा अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि स्थानीय समिति रहेको छ ।

सहभागीहरुले राक्सिराङ्ग गाउँपालिकाको घट्दो जनसंख्या, बालविवाह, बहुविवाह, बैदेशिक रोजगारमा गएकाहरु अलपत्र परेको, ठगीमा परेको लगायत बिषयमा प्रश्न गरेका थिए । त्यस्तै बिद्यालय तहमा मान बेचविखन रोकथामका निम्ति दिइने शिक्षा, प्रहरी चौकीमा आउने उजुरी, पालिकाले बैदेशि रोजगारमा जानेहरुका लागि दिने सेवा लगायतका बिषयमा प्रश्न उठेको थियो ।

सहभागीबाट उठेका जिज्ञासाहरुको जवाफ दिदैँ गाउँपालिका शिक्षा शाखाका पासाङ लामाले बिद्यालयहरुमा अभिभावक शिक्षा दिइएको, बाल सञ्जालहरु गठन गरि मानव बेचविखनबारे चेतना फैलाइएको बताउनुभयो । समाजिक बिकास शाखा प्रमुख गोविन्द अधिकारीले स्थानीय रोजगार सेवा केन्द्रले आवश्यक परामर्श दिने गरेको र विदेश जानेहरुको तथ्यांक राखेर कुनै समस्या परेमा सहजीकरण गर्ने तयारी गरिरहेको बताउनुभयो । वडाअध्यक्ष तथा न्यायिक समिति सदस्य हरिबहादुर प्रजाले भिजिट भिसामा बिदेश गइ अलपत्र पर्नेहरु गाउँपालिकाको सम्पर्कमा आएको र लैजाने एजेन्ट झिकाई रकम फिर्ता गराइएको उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ्गको जनसंख्या घटेकै कारण घर उपहार कार्यक्रम ल्याइएको बताउनुभयो । अन्यत्रबाट बसाइ सरि राक्सिराङ्ग आउने मानिसलाई निश्चित मापदण्ड बनाई घर उपहार दिने कार्यक्रम केहि समयमै कार्यन्वयन गरिने उहाँले बताउनुभयो ।

त्यस्तै बैदेशिक रोजगारमा जानेहरु आफुखुशी गैरकानुनी रुपमा जाने समस्यामा परेपछि स्थानीय सरकारलाई दोष दिने गरेको उहाँको गुनासो छ । बिदेशमा  ठगी तथा समस्यामा परेका आफ्ना नागारिकलाई तत्काल उद्धार तथा सहयोग गर्न गाउँपालिका तयार रहेको उहाँले बताउनुभयो ।

कानुनी प्रक्रिया पुरा गरेरै जानेहरु समस्यामा परे कानुनी लडाँई लड्न सक्ने र त्यसका लागि गाउँपालिकाले निशुल्क मुद्धा लड्न सहयोग गर्नेसमेत उहाँले बताउनुभयो । सीप नभई बिदेश जाने समस्याको अन्त्य गर्न गाउँपालिकाले विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गरिरहेको पनि उहाँले बताउनुभयो ।

नारी सीप सिर्जना केन्द्रका कोषाध्यक्ष रेनु गुरुङले मानिसको आर्थिक स्तर सुधार गर्न सके बेचविखन, बाल विवाह, बहुविवाह जस्ता समस्या स्वत घट्ने बताउनुभयो । त्यसका लागि जिविकोपार्जनसम्बन्धि विभिन्न क्रियाकलाप नारी सीपले गरिरहेको उहाँको भनाई छ ।
कोषाध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चारकर्मी ज्ञानेन्द्र तामाङले सहजीकरण गर्नुभएको थिए ।

कार्यक्रममा नारी सीप सिर्जना केन्द्रका कार्यक्रम संयोजक ज्योति बम्जनले संस्थाले राक्सिराङ्गमा गरिरहेका विभिन्न क्रियाकलाप र गतिविधिका बारेमा स्पस्ट पार्नुभयो । केन्द्रले एडब्लुओ इन्टरनेशनल र बिएमजेडको सहकार्यमा गाउँपालिकाको ७ वटा वडाहरुमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।