मंगलबार, माघ ०९ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अब तरुण दल किसानको मुद्दा बोकेर तराई प्रवेश गर्ने बताउनुभएको छ । कास्की कांग्रेस जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भन्नुभयो, नेपाल तरुण दल भाषण र सभा सम्मेलनमा मात्र होइन, जनताको भावना नजिक छ ।


यही उद्देश्य लिएर हामी अब तराई जाँदैछौं । तराईमा हामी किसानको मुद्दा लिएर जाने छौं । तराईमा तरुण दल किसान नै भएर काम गर्नेछ । पहाडमा पनि तरुण दल छुट्टै मुद्दा लिएर छिट्टै जाँदैछ ।’ उहाँले जाजरकोट र पश्चिम रुकुममा १० दिनसम्म बसेर भूकम्प पीडितलाई अस्थायी टहरामा राखेर आएको जानकारी गराउनुभयो ।

‘नयाँ पार्टी विदेशीका एजेन्ट हुन्, तिनीहरु धेरै टिक्दैनन्’ अध्यक्ष गुरुङले भने, ‘हिजो देशलाई संकट रविन्द्र मिश्र र रवि लामिछानेहरु कहाँ थिए ? त्यसबेला नेपाली कांग्रेसले सामना गरेको थियो । जनताको अधिकारका लागि कांग्रेसको नेतृत्वमा लोकतन्त्र स्थापना गरेको हो ।’

अध्यक्ष गुरुङले भन्नुभयो, ‘जनता अब सचेत भइसके, ढाँटेर राजनीति चल्दैन । नेपाली कांग्रेसका नेता कार्यकर्ताविरुद्ध सामाजिक सञ्जाल उपयोग गरेर गाली गरिरहेका छन् । त्यस्तालाई हामीले बाइकट गर्नुपर्छ । कांग्रेसले गरेको कामलाई प्रचार गरौं, पार्टीका आदर्श पुरुषहरुको वाणीलाई सामाजिक सञ्जालमा सेयर गरौं ।’

नेपाली कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन कार्यकर्तामा उत्साह देखिएको छ । यो उत्साहले केन्द्रदेखि वडातहसम्म एकताबद्ध गरेर लैजाने अध्यक्ष गुरुङको भनाइ थियो ।