आइतबार, फाल्गुन १३ गते ।

मकवानपुर । मनहरी गाउँपालिकामा क्रियाशील रहेको पाँच राजनीतिक दलले मनहरी गाउँपालिकाको आन्तरिक स्रोतबाट खर्च हुने गरी आह्वान भएको पाँच वटा पुल समयमै नबनेको लगायत बिषयहरुमा आन्दोलन सुरु गरेपछि नेपाल तरुण दल मनहरी गाउँपालिका समितिले बिरोध प्रदर्सन गरेको छ । आफ्नो पार्टीका नेता बागमती प्रदेश सभापति समेत रहनु भएका इन्द्रबहादुर बानियाँको फोटो टाँस गरी चरित्र हत्या गरेको भन्दै बिरोध सभा गरेको हो ।

उक्त बिरोध सभालाई सम्बोधन गर्दै पार्टी महासमिति सदस्य एवम् तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले भूकम्प, नाकाबन्दी, कोभिड महामारी र अहिलेको आर्थिक मन्दीका कारण निर्माण व्यवसायी थला परेको र राज्यले भुक्तानी एवम् सुरक्षा दिन नसक्दा अवस्था दयनीय रहेको बताउनु भयो । भेटवालले विरोध प्रर्दशनमा सामाजिक संस्कार र चरित्र समेत गुमाउँदै निर्माण व्यवसायीलाई मानहानी गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । विरोधमा उत्रिएको एमालेबाट निर्वाचित तत्कालिन उपाध्यक्षको नाममा ९ लाख रुपैंयाँ पेश्की रहेको दावी गर्दै बक्यौता २४ घण्टाभित्र भुक्तानी गर्न चेतावनी पनि दिनु भएको थियो । साथै भेट्वालले बानियाँको चरित्र हत्या गर्ने पक्षले २४ घण्टाभित्र माफी नमागे तरुण दल प्रतिकारमा उत्रिने समेत चेतावनी दिएका छन् ।

बिरोध सभा कार्यक्रममा नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमिति सदस्य जानकी लामा, जिल्ला सदस्य नुरोज पौडेल, नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, तरुण दल मनहरी गाउँपालिका अध्यक्ष स्वतन्त्र उप्रेती लगायत कांग्रेस नेता र तरुण नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।