शनिबार, फाल्गुन २६ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाको पर्यटकिय क्षेत्रको रुपमा विकास भइरहेको जलपरी झरना तथा चमेरो गुफा नजिकै भगवान बुद्धको मुर्ति बन्ने भएको छ । मनहरीबाट करिब १० किमि पुर्वतर्फ रहेको उक्त झरना तथा गुफा अवलोकनका लागि आउने पर्यटकलाई थप आकर्षण गर्नका लागि करिब १० फिट अग्लो मुर्ति बनाउन लागिएको हो ।

शुक्रबार बुद्धको मुर्ति निर्माणको सुरुवात गर्दै राक्सिराङ्ग गाउँपालिका ३ का वडा अध्यक्ष उत्तम वाइबाले शिलान्यास गरेका हुन् । अध्यक्ष वाइबा, सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङ, मुर्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष थापा बहादुर दोङ, हरियाली टोल विकास संस्थका अध्यक्ष मनिक बल लगायतको उपस्थितिमा धार्मिक बिधि पुरा गरेर मुर्ति शिलान्यास गरेको हो ।

साथै उक्त क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढिरहेकाले थप संरचनाहरु निर्माण गर्न वडाले बजेट विनियोजन गरेको अध्यक्ष वाइबाले बताए । बुद्धको मुर्ति निर्माणका लागि ८ लाख विनियोजन गरिएको र थप पुर्वाधार निर्माण बजेट ब्यवस्थापन गरिने समेत अध्यक्ष वाईबाले बताए ।