सोमबार, बैशाख १७ गते ।

मकवानपुर । नेपाल तरुण दलको आफ्नै भवन निर्माणका लागि मकवानपुरका नेपाल तरुणका केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

तरुण दलको केन्द्रीय सदस्य रहेका भेटवालले भवन निर्माणका लागि ब्यक्तिगत रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष बिद्वान गुरुङले सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेबमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको भेटवालले बताए ।

तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार आफ्नो तर्फबाट २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको भेटवालले बताए ।

आरबी अर्वान विल्डर्श एण्ड सप्लायर्सका सञ्चालक समेत रहेका भेटवालले भने, ‘तरुणको अब बन्न लागेको भवन हामी सबैको साझा भवन हो । आफ्नै कार्यालय भवन निर्माणमा सकेको सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ सहयोग गरेको हुँ । अन्य साथीहरुलाई पनि सहयोगका लागि अनुरोध गर्दछु । आगामी दिनमा पनि म सकेको सहयोग निरन्तर गरिरहने छु ।’

साथै भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको उनको भनाई छ ।