बुधबार, जेष्ठ ०२ गते ।

मकवानपुर । नेपाल तरुण दलले आज जेठ २ गते बुधबार सहकारी पीडितको पक्षमा बृहत् र्‍यालीको आयोजना गरेको छ । माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त र्‍यालीलाई सम्बोधन गर्दै तरुण दल अध्यक्ष विद्वान गुरुङले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री रवि लामिछाने र जिवि राईको पार्टनर रवि लामिछाने एउटै मान्छे नभएको बताए । यदि यी तिनैजना मान्छे एउटै हो भने तत्काल छानविन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्ष गुरुङले आग्रह गरे ।

बिहान बेलुका छाक टार्ने पैसा सहकारीमा जम्मा गरेको व्यक्तिहरुको बिचल्ली बनाएर रवि लामिछाने सत्ताको आनन्दमा रमाईरहेको समेत अध्यक्ष गुरुङले आरोप लगाए ।

चितवनको उपचुनावमा विदेशिएको युवाहरुलाई स्वदेशमा फर्काउन तपाईले पहल गर्ने बताउँदा मलाई खुशी महसुस भएको थियो, तर आज तपाईले ती विदेशिएको युवाहरुलाई पनि निराश बनाउनुभयो’ अध्यक्ष विद्वान गुरुङले बताए ।

आज या भोलि छानविन समिति बन्ने बिश्वास आफुलाई रहेको बताउँदै गुरुङले आजको यो र्‍याली एउटा सांकेतिक विरोध भएको उनले बताए । तत्काल साहहकारी पीडितको पक्षमा निर्णय नभइ तरुण दलको विरोधलाई यदि सामान्य रुपले लिए त्यसपछि उत्पन्न हुने परिणामको भागिदार स्वयम् सरकार हुनु पर्ने चेतावनी समेत उनले दिए ।

साथै अध्यक्ष गुरुङले नेपाल प्रहरीभित्र भइरहेको सरुवा बढुवाप्रति पनि असन्तुष्टि जनाएका छन् । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवाले मनोबल गिर्ने उनको भनाइ थियो । छिट्टै छानविन समिति नबने तरुण दलले अझ संघर्षको कार्यक्रम सार्वजनिक गर्दै जाने उनले बताए ।