काठमाण्डाै – मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् ।

‘अबको निषेधाज्ञा वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको हुन्छ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भन्नुभयो, ‘अब निषेधाज्ञा थपिँदा अहिलेको भन्दा खुकुलो बनाउने सोच छ । नागरिकले मेरै लागि हो भनेर अपनत्व महसुस गर्ने गरी जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्ने र आफ्नो दैनिक काम गर्न सक्ने गरी निषेधाज्ञाका प्रावधान राख्न सकिन्छ ।’

अब ‘स्मार्ट लकडाउन’ हुने भनेर भनिए पनि यसबारे थाहा नभएको उहाँले बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि ‘स्मार्ट लकडाउन’बारे जानकारी नआएको तर अबको निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो हुने जानकारी दिनुभयो । 

सङ्क्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधानलाई ‘स्मार्ट लकडाउन’ भन्ने बुझिए पनि सीसीएमसीमा छलफल भएको यो विषयबारे सरकारी निकायहरु नै बेखबर छन् । तर पनि अब थपिने निषेधाज्ञामा आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ ।

सीसीएमसी प्रमुख बालानन्द शर्माका अनुसार ‘स्मार्ट लकडाउन’ कस्तो हुने भनेर छलफल भइरहेको छ । तर सबैजसो आर्थिक क्षेत्र चलायमान हुने उहाँले बताउनुभयो । लकडाउन, लुज लकडाउन, निषेधाज्ञा, खुकुलो पारिएको निषेधाज्ञा भनेजस्तै ‘स्मार्ट लकडाउन’ पनि एउटा मोडालिटी हो । झण्डै दुई महिना लामो निषेधाज्ञाले गरिखाने वर्ग र अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले अहिले भइरहेको निषेधाज्ञाको मोडालिटी परिमार्जन गरी लागू गर्न लागिएको उहाँको भनाई छ ।

उदाहरणका लागि अहिले अत्यावश्यकबाहेक अरु सबैजसो क्षेत्र बन्द छन् । तर अब सबैजसो क्षेत्र खुल्नेछन् । तर ती क्षेत्रलाई दिन तोकेर वा बार अनुसार वा समय तोकेर खुलाइनेछ । जस्तै सरकारी कार्यालय हप्तामा तीन दिन खुलाउन सकिन्छ । आइतवार कार्यालय खुले अर्को दिन बिदा हुनेछ । त्यस्तै गाडीहरु एकै पटक सबै चल्ने छैनन् । थोरैथोरै सङ्ख्याका आधारमा चलाउँदै लैजानेबारे छलफल भइरहेको छ । एकैपटक जोर बिजोरमा जाँदा भएकामध्ये आधाजसो गाडी गुड्ने भएकाले अब सङ्ख्याका आधारमा खुलाउने तयारी छ ।

अहिले बिहान ११ बजेसम्म फलफूल तथा खाद्यान्न पसल खुलेका छन् । यसलाई ९ बजेसम्म या ११ बजेसम्म नै निरन्तर खुलाउने र ११ बजेपछि अरु पसलहरु खुलाइने तयारी छ । निषेधाज्ञाको अवस्थालाई मूल्याङ्कन गरी त्यसपछि अहिले ठप्प रहेका केही क्षेत्रहरु खुला हुनेछन् । ती खुल्ने क्षेत्रको पहिचान र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफलकै क्रममा छ ।

हाेमडेलिभरी तथा अनलाइन सपिङलाई प्राथमिकतामा राखिएको छ । जुनसुकै क्षेत्र खुले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने सर्त कायम रहनेछ ।