२९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् ।

नेपालले दोस्रो हाफ पूरा हुँदा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा नेपालले दुई गोल व्यहोरेको थियो भने दोस्रो हाफमा एक खेलाडी कम हुँदा नेपालले एक गोल मात्र व्यहोर्‍यो । प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले गोर्खाली शैलीमा खेलेको बताए । उनले १० वा ११ खेलाडी जति भएपनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिएका छन् ।

‘नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ । १० खेलाडी होस् या ११, हामीले हरेक समय भिडेर खेल्यौं ।’ उनले भने । अलमुताइरीले मैदान उत्रेका सबै खेलाडीले मेहनत गरेर खेलेको बताए ।

फिफा वरीयतामा ४१ औ स्थानमा रहेको अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कप जितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले गरेको मेहनतको अलमुताइरीले प्रशंसा गरे । ‘पहिलो हाफको सुरुमै गोल खायौँ र दोस्रो हाफमा १० खेलाडीमा समेटियौँ । तर खेलाडीले मेहनत गरेर खेले । म यसमा खुशी छु ।’

उनले केही काउन्टर अट्याकको प्रयास गरेपनि सफल हुन नसकेको बताए । यस्तै मिडफिल्डमा जम्ने मानसिकताका साथ खेलेको र मिहिनेत गरेको बताए । अलमुताइरीले कुवेत टुरमा सबै खेलाडीले अनुभव बटुल्ने अवसर पाएको पनि बताए । नेपालले समूह बीको बाँङ्की ३ खेल खेल्दा अष्ट्रेलिया र जोर्डनसंऊ समान ३-० को हार बेहोर्‍यो भने चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो ।

कुवेत जानुअघि इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल मनिस डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए । अष्ट्रेलियाविरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले इन्जुरी टाइममा मैदान प्रवेश गर्दै डेब्यु गरे । पहिलो पटक नेपाली टिममा परेका ६ मध्ये गोलकिपर विशाल सुनारले मात्र डेब्यु गर्न पाएनन् । यस्तै यसअघि नै राष्ट्रिय टिममा परेपनि अहिले टिममा रहेका अर्का गोलकिपर दिप कार्कीले पनि डेब्यु गर्न बाँकी छ ।

नेपाल ३-० ले पराजित

विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग ३-० ले पराजित भको छ । कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफमा एक खेलाडी कम रहेर खेलेको थियो । त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध ३ गोल मात्र व्यहोरेको हो ।

पहिलो हाफमा अष्ट्रेलियाले नेपालविरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले रातो कार्ड पाएका थिए । दोस्रो हाफमा अष्ट्रेलियाले एक गोल मात्र थप्यो ।

यसअघि २०१९ मा अष्ट्रेलियामा खेलेको खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो टिम अष्ट्रेलियासंग नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताएका थिए । उनले अष्ट्रेलिया विरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेका नेपाली टिममा ५ खेलाडी परिवर्तन गरेका थिए ।

अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्ट विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेलेका थिए ।

तीन खेलाडीको डेब्यु

अष्ट्रेलियाविरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए ।