बिहीबार, साउन ०५ गते ।

मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्ण बहादुर खड्काले मनहरी ७ स्थित रहेको बोटे समुदायसंग भेटघाट गरेका छन् । अति सिमान्तकृत समुदाय अन्तर्गत पर्ने बोट समुदायको मनहरी गाउँपालिका वडा न: ७ निवासी कान्छी माया बोट, बोट समुदायबाट नेपालकै एक मात्र जनप्रतिनिधि हुनुहुन्छ ।

बोट नेपाली काँग्रेसबाट मनहरी गाउँपालिकाको कार्यपालिका सदस्य पदमा निर्वाचित बन्नु भएका थिए ।
भेटघाटका क्रममा उपसभापति खड्काले मनहरी गाउँपालिकाले कान्छी माया बोटलाई कार्यपालिका सदस्यमा निर्वाचित गराएर देशमै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा समेत गरे । बोट समुदायको हक, हित र उनीहरुको पुख्रौली पेशाको सुरक्षाको विषय, पर्सा राष्ट्रिय निकुञ्ज नजिक भएकोले वन्यजन्तु आतङ्कको विषयमा समेत छलफल गरिएको थियो ।

वन्यजन्तु आतङ्क न्यनिकरणका लागि उपसभाति खड्काले छलफलकै क्रममा सम्बन्धित मन्त्रालयमा फोन गरेर जानकारी गराएका थिए । साथै भेटघाट कार्यक्रममा सामुहिक भोजन समेत गरिएको थियो । उपसभाति खड्का होटल, रेस्टुरेन्टमा बस्न नरुचाउने भएकोले र सोही समुदायसंग सामिप्यता कायम गर्न सामुहिक भोजन कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौलाले बताए ।
सामुहहिक भोजन कार्यक्रममा उपसभापति खड्का लगायतका नेताहरुले आफुले खाएको थाल आफैले माझेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानिँया, जिल्ला सभापति बुद्ध लामा, जिल्ला पार्टी सचीव ईश्वर पाठक, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली काँग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौला, मनहरी गाउँपालिका वडा न: ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ लगायत जिल्लास्तर र गाउँस्तरका नेताहरुको समेत उपस्थिति रहेको थियो ।