बोतलको प्लाष्टिक बालेनले खल्तीमा हाल्यो तर धनराजले भने भुइँमा फाले ।

शनिबार, श्रावण १४ गते ।
मकवानपुर । सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडिओ भाइरल छ । भिडिओमा काठमाडौं महानगरका मेयर बालेन शाह र पोखरा महानगरका मेयर धनराज आचार्य देखिन्छन्। उनीहरू पानीको बोतल बिर्को खोलेर खाँदैछन् ।
पानी बोतलको बिर्कोमा लगाइएको प्लाष्टिक खोलेर बालेन कोटको खल्तीमा राख्छन् । भिडिओमा पोखराका मेयर धनराजले भने त्यही प्लाष्टिक भुँइमा फालेका छन् । समय नेपाल टिभी नामक टिकटकमा राखिएको उक्त भिडिओमा लेखिएको छ– ‘बालेनबाट केही सिक्ने कि मेयर साब धनराज जी ।’
सराङकोटको बन्द कोठामा देशका ६ वटै महानगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत विज्ञहरू छलफलमा व्यस्त छन् । महानगर मेयर सम्मेलनमा सहभागी हुन आएका उनीहरूलाई पोखराका मेयर धनराजले शुक्रबार सभागृहमा लोकदोहोरी प्रतियोगिता हेर्न लगेका थिए ।
खचाखच दर्शकको भिडमा अघिल्लो रोमा बसेका मेयरहरूको टोलीमा धनराज र बालेन सँगसँगै बसेका थिए । स्वयंसेवकले दिएको पानी बोतल खोलेर खाने क्रममा धनराजले प्लाष्टिक भुइँमा फालेको प्रत्यक्षदर्शी सन्देश बरालले बताए ।
‘काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता डंगोलले प्लाष्टिक खल्तीमा हाल्नुभएको थियो, बाँकी सबैले भुइँमा फाले,’ उनले भने, ‘बालेन र धनराजको भिडिओ खिच्दा उक्त दृश्य क्यामेरामा कैद हुन पुग्यो ।’
पोखराका मेयर धनराजले महानगरको बजेट पास भएपछि पत्रकार सम्मेलन आयोजना गरेर आफू बालेन र धरानका मेयर हर्क साम्पाङ भन्दा फरक भएको बताएका थिए । बालेन र हर्कले ‘स्टन्ड’ गरेको तर्क दिएका उनले आफू गिट्टी कुट्न नजाने बताएका थिए ।
त्यतिबेला शहरका पसलहरूमा राखिएका प्लाष्टिक हटाउन र जथाभावी प्लाष्टिक फाल्नेलाई कारबाही र जरिवानासमेत तोकेको थियो । महानगरका एक कर्मचारीका अनुसार त्यतिबेला प्लाष्टिक बेच्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना लिएका थिए । जथाभावी फाल्नेलाई १५ हजारसम्म जरिवाना लिएका थिए ।