आइतबार, श्रावण १५ गते ।

मकवानपुर । आज साउन १५ अर्थात खीर खाने दिन । तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ । शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन रहेको छ ।

चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो ।

व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नु पर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ । यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन छ ।

‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ । यद्यपि खीरमा पाइने जस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नु पर्ने हो । तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ । त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरामा ध्यान दिनुपर्छ ।