बिहीबार, साउन १९ गते ।

मकवानपुर । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएका मेयर बालेन शाह पछिल्लो समय एक पछि अर्को विवादमा तानिएका छन् । उनलाई मेयर बनाउनु पर्छ भनेर हिड्नेहरु नै अहिले उनको विरोधी भएर निस्कन थालेका छन् ।

पटक पटक विवादमा पर्दै गए पछि मेयर बालेन शाहले राजनितीक पार्टीहरुको साथ खोज्न थालेका छन् । काठमाडौै महानगरपालिकाले आगामी आर्थिक बर्षका लागी बिनियोजन गरेको बजेटमा पनि काँग्रेस र एमाले नेताका नाममा खुलेका ट्रस्ट र फाउण्डेसनको नाममा करोडौँ बजेट बिनियोजन गरिएको छ ।

यसै विच मेयर बालेन शाह अब स्वतन्त्र हैसियतमा नबस्ने र उनी कुनै राजनितिक दलमा प्रवेश गर्न लागेको हल्ला चलेको छ । बालेन नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको र काँग्रेसका महामन्त्री गगन थापासँग भित्री सेटिङ भइरहेको खबर बाहिरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री शेरबहादुर तामाङले किटानीका साथ बालेन नेपाली काँग्रेसका प्रवेश गर्न लागेको दाबी गरेका छन् । यो कुराको सुचना आफुसँग भएको भन्दै तामाङले गगन थापाले यसमा कुरा गरिरहेको दाबी गरेका छन् ।

प्राइम टाइमस् टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एमाले नेता तामाङले बालेन काँग्रेस प्रवेश गर्न लागेको सुचना आफुसँग भएको दाबी गरेका छन् । काँग्रेस महामन्त्री गगन थापाले गोप्य रुपमा बालेनसँग कुराकानी गरिरहेको दाबी पनि उनले गरेका छन् ।

काठमाडौँ महानगपालिकामा काँग्रेसको बहुमत रहेकाले काँग्रेस प्रवेश गर्ने तयारीमा बालेन रहेको दाबी एमाले नेता तामाङले गरेका छन् । काठमाडौँ महानगरपालिकाको निति तथा कार्यक्रम, बजेट लगायतका कुराले पनि त्यो कुरा पुष्टि हुने जिकिर उनले गरेका छन् ।

एमाले नेता तामाङसँगै कार्यक्रममा सहभागी रहेका काँग्रेस नेता मोहन बस्नेतले पनि स्वतन्त्रहरुले चुनाव जित्नु राम्रो नभएको बताए । दलीय व्यवस्थामा दलनै प्रमुख रहने भन्दै उनले स्थानिय तहको निर्वाचनमा स्वतन्त्रहरुले जित्नु राजनितिक पार्टीका लागी सबक भने भएको बताए ।

काँग्रेस नेता बस्नेतले मेयर बालेन शाहलाई नानीमैँया दाहालसँग तुलना गरेका छन् । पञ्चायतकालमा पनि नानीमैयाले काठमाडौँबाट जितेको भन्दै यस्तो कहिले काँही हुने बताए । सबल लोकतन्त्रका लागी भने यस्ता चिजले राम्रो नगर्ने जिकिर बस्नेतले गरेका छन् ।