आइतबार, साउन २२ गते ।

मकवानपुर । पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट सङ्घीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जोशीले ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ १ बाट सङ्घीय निर्वाचन लड्ने बताउनु भएको हो ।

उक्त क्षेत्रबाट कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । गत निर्वाचनमा जोशीले वागी उम्मेवारी दिएपछि पार्टीले उनलाई निष्कासन गरेको थियो । जोशीले कांग्रेसले पाखा पारेका सबै नेता-कार्यकर्तालाई ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत उम्मेदवारी दिन आह्वान गरिरहेका छन् ।

सत्ता गठबन्धनको विरोध गर्दै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले कांग्रेस सिध्याउन खोजेको आरोप लगाउनु भयो । ‘पाँच पार्टीको गठबन्धन र एउटै घोषणापत्र बन्ने होला, चुनाव चिह्न एउटैमा लड्ने होलान्,’ जोशीले भन्नुभयो, ‘कांग्रेस अब कांग्रेस रहेनन्  ।’ उहाँले आगामी चुनाव जित्नेमा ढुक्क रहेको समेत बताउनु भयो । ‘स्थानीय तहको चुनावमा पाएको मतले पनि हामीले चुनाव जित्न गाह्रो नभएको देखिन्छ, चुनाव जित्नेमा ढुक्क छु,’ जोशीले भन्नुभयो ।

गत स्थानीय तह निर्वाचनमा पनि तनहुँको व्यास नगरपालिकाको मेयर पदमा जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । तर उनी कांग्रेसका वैकुण्ठ नाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए । यो खबर अनलाइन खबरमा प्रकाशित छ ।