मनहरीमा भूकम्पका इन्जिनियरले लाभग्राहीसग ब्रह्मलुट मच्चाए ।

आइतबार, साउन २२ गते ।
मकवानपुर । पुन: निर्माण प्राधिकरणले भूकम्प पीडितहरुका लागि निर्माण गरिदिने घरको प्राविधिक र प्रशासनिक समेत सहजीकरण गर्नका लागि खटाइएका इन्जिनियरहरुले लाभग्राहीलाई ब्रह्मलुट गरेका दर्जनौ उदाहरणहरु सार्बजनिक भएका छन् । त्यस्तै मध्येको अर्काे उदाहरण हो मनहरी गाउँपालिका वडा नं ६ मा खटिएका इन्जिनियर रविन्द्र यादव । ११ महिना अघि जागीरको करार अबधि सकाएर घर फर्केका यादवले जागीर छाडेको १ बर्ष बित्नै लाग्दा समेत लाभग्राहीसँग रकम असुल गरिरहेको पाइएको छ ।
मनहरी गाउँपालिका ६ नं वडाका अधिकाँश लाभग्राहीहरुसँग यादवले प्रति लाभग्राही १ लाख ५० हजार रुपियाँसम्म लिएको पाइएको वडा अध्यक्ष युवराज थपलियाले बताए । ‘यादवले रकम नपाए भुक्तानीको कागज अघि बढाउँदिन भन्दै लाभग्राहीलाई रकम दिन बाध्य तुल्याउने रहेछ’, वडा अध्यक्ष थपलियाले भने–‘सोझा साझा लाभग्राहीले भुक्तानी नै रोकिने भएपछि रकम दिँदा रहेछन् ।’
इन्जिनियर यादवले रकम असुल गरेको बिषय बाहिर आएपछि लाभग्राही हर्षबहादुर राई र कालेबहादुर राईले इलाका प्रहरी कार्यालय मनहरीमा ठगी मुद्दा दर्ता गराएका छन् । उहाँहरुसँग यादवले रकम लिएको दाबीका साथ जाहेरी दरखास्त परेको हो । उक्त ठगी सम्बन्धी मुद्दाका फरार अभियुक्तका रुपमा इन्जिनियर यादव बेपत्ता छन् । उनको ९८१९९४३१९६ मोबाइलमा निरन्तर फोन जान्छ, तर रिसिभ हुँदैन ।
स्रोतका अनुसार साउनको पहिलो साता लाभग्राहीसँग रकम बार्गेनिङ गरी लिनका उनी मनहरी आसपासमै आएका थिए । कतिपय लाभग्राहीले नगद र कतिपय लाभग्राहीले बैँक खातामा रकम हालिदिएको बताइएको छ ।
ठगको भण्डाफोर गरौँ, मैले प्रहरीलाई सहयोग गरेको छुः लक्ष्मी राई
सामाजिक काममा लागिरहनु भएकी महिला नेतृ एबम् महिला उत्थान तथा सीप विकास केन्द्रकी अध्यक्ष समेत रहनु भएकी मनहरी ६ प्रतापपुरकी लक्ष्मी राईले इन्जिनियर यादवले सोझा साझा लाभग्राहीहरुलाई ठगेको बिषयमा सबैले आवाज उठाउनुपर्ने बताए ।
उनले आफूलाई केही मान्छेहरुले यादवको सहयोगीको रुपमा प्रस्तुत गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । पुन निर्माणको रकमबारे बुझ्न बैँक गएको बेला फुपूको आग्रहमा आफूले रविन्द्र यादवको खातामा ९० हजार रुपियाँ संकलन गरिदिएको लक्ष्मीले बताए ।
‘म बैँकमै थिएँ, फुपूले ९० हजार रुपियाँ यो खातामा हालिदेऊ, मैले जानिनँ भन्नुभयो’, लक्ष्मीले भने–‘कसको पैसा ? कहाँ र किन पठाइएको हो मलाई थाहा भएन ।’ पछि वडा अध्यक्ष थपलियासहित बसेर छलफल गर्दा अन्य धेरै मान्छेको रकम यादवले ठगी गरेको पाइएपछि उसलाई पक्रनु पर्छ भन्नेमा आफूहरु एकमत भएर लागेको लक्ष्मीले बताए ।
लक्ष्मीले आफूले संकलन गरिदिएको रकमको भौँचरको प्रतिलिपि समेत इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा बुझाइदिएको बताए । यो खबर मनहरीलाइभ डटकममा प्रकाशित छ ।