२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको करिब साढे ३ वर्षको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चार जना मन्त्री फेरिए, करिब ६ महिना प्रधानमन्त्री आफैंले यो मन्त्रालयको जिम्मा लिए । अस्थिर नेतृत्वको परिणाम पर्यटन मन्त्रालयको कार्यप्रगतिमा देखिएको छ । अहिले सबैभन्दा कमजोर कार्यप्रगति भएको मन्त्रालयमा यही पर्छ । यो मन्त्रालयको जिम्मामा पर्ने पर्यटक आगमन, विमानस्थल निर्माण, संस्कृतिका क्षेत्रमा यो चार वर्षमा प्रगतिभन्दा बढी आलोचना र विवादित काम भए । यद्यपि कोरोना महामारीका कारण मन्त्रालयले कतिपय कमजोरीमा शंकाको सुविधा पाएको छ ।

२०७४ फागुनमा सरकार बनेपछि सुरुमा रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाए । २०७५ फागुना उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ६ महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको जिम्मा आफैं लिए ।

त्यसपछि २०७६ भदौमा योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हाले । डेढ वर्षपछि २०७७ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि भट्टराईले राजीनामा गरेपछि भानुभक्त ढकालले यो मन्त्रालय सम्हाले ।

केही दिनअघि मन्त्रिपरिषद पुनर्गठन गर्दा ओलीले ढकाललाई विदा गरेर जनता समाजवादी पार्टीका उमाशंकर अरगरियालाई यो मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी कति समय यो मन्त्रालयमा रहन्छन् र कति कम गर्छन् भन्ने कुरा प्रतीक्षाकै विषय हो ।