शुक्रबार, साउन २७ गते ।

मकवानपुर । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभियन गरेका अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेको हो । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।

मन्त्री निवास पुल्चोकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत र तरुण दल अध्यक्ष विद्वान गुरुङ लगायत उपस्थित थिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि धेरै संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’

साथै शाहीले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए । ‘धेरै अग्रज र सम्मानित कलाकारहरु कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने । उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए ।