शुक्रबार, श्रावण २७ गते ।

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा केही महिना अगाडी मात्रै सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटमा विक्रीको लागि राखिएको बस्तु कम गुणस्तरको रहेको शंका गरिएको छ । सुपरमार्केटमा कम गुणस्तरको उपभोग्य सामाग्री बिक्री बितरणको लागि राखिएको भन्दै उपभोक्ताले गुनासो गरेपछि स्थानिय प्रशासनले अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरको संयोजनमामा भएको बजार अनुगमनका लागि बुधबार टोली हेटौंडा उपमहानगरपालिका–२ स्थित भाटभटेनी सुपरमार्केट पुगेको थियो । सुपरमार्केटमा पुगेका टोलीले बिक्रीका लागि राखिएको उपभोग्य सामाग्री अनुगमन गरेको छ ।
अनुगमनको क्रममा भाटभटेनी सुपरमार्केटमा बिक्रीको लागि राखिएको दुईवटा खानेतेलको नमुना लिइएको छ ।

सुपरमार्केटबाट बिक्री भइरहेको खानेतेल शङ्कापद लागेकोले परीक्षणका लागि नमुना लिइएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । तेल गुणस्तरहिन भएको पाइएमा कानुन बमोजिम दण्ड तथा जरिवान गरिने उनले बताए ।

साथै बजार अनुगमनको क्रममा बुधबार खाद्य ऐन विपरीत सञ्चालन भएका आँगन स्वीट्स एवं फास्टफुड र राजधानी स्वीट्सलाई २०–२० हजार, मापदण्ड विपरीत सञ्चालन भएको पाइएपछि जनरल सप्लायर्सलाई १५ हजार, न्यू एन्ड आई सु–सेन्टर लाई १५ हजार र अल्फाडेन्टललाई पाँच हजार रुपियाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए । उनले अनुमति बिना सञ्चालन गरिएका पोलिक्लिनिक, भेटेरिनरी औषधि पसल र डेन्टल पसल बन्द गरिएको बताए ।

अनुगमन टोलीले दुईवटा अस्पतालले अनुमति भन्दा बढी क्षमताको शैया सञ्चालन गरेको पाइएकोले स्वीकृत भन्दा बढी क्षमताको अनुमति लिन निर्देशन दिएको र होटल व्यवसायमा सरसफाइ नभएको, अखाद्यतेल तथा अन्य वस्तुको प्रयोग, अस्वस्थ खानेपानीको प्रयोग जस्ता समस्या रहेकोले तत्काल सुधार गर्न सचेत गराएको छ ।