शनिबार, साउन २८ गते ।

मकवानपुर । मलिलो चेहरा बोकेका मानिसहरुको आवतजावत बाक्लो देख्छु । सोधपुछ कक्षको ठीक पछाडिपट्टि एउटा कुनामा उमेश मिजारको परिवार बसेको रहेछ । अर्को कुनामा बालबालिका खेलिरहेका देखिन्छन् । ओपीडी विभाग भरिराऊ छ । टिकट काट्ने ठाउँमा लाइन उस्तै देख्छु । इमर्जेन्सी कक्ष बाहिर एम्बुलेन्सको आउजाउ छ । भित्र बेड भरिभराउ देखिन्छ । बच्चाहरु रोएको व्यापक सुनिन्छ । सोधपुछ कक्ष छेउमै रिपोर्ट कुर्नेहरुको भिड बाक्लो देखिन्छ । तर, कर्मचारीहरु भने गायब छन् । ‘डाक्टरले आज रिपोर्ट लिएर आउनु भनेका थिए, खै यहाँ त रिपोर्ट दिने मान्छे नै छैनन्’, मनोज बम भन्छन्, ‘बल्लतल्ल आएको पालोमा पनि रिपोर्ट नै देखाउन नपाईला जस्तो छ ।’

धनगढीका बम ७ वर्षीया छोरीको मुटुमा समस्या देखिएपछि कान्तिमा आएका रहेछन् । अस्पताल धाएको तेस्रो दिनसम्ममा पनि  रिपोर्ट नपाउदा दिक्क भएको बताउदै थिए । कान्तिमा यसरी नै दिनहुँ सैयौंले सास्ती खेपिरहेका छन् । उमेश मिजारका काखमा सानी नानी छन् । छेउमै श्रीमती, लुगाका पोका र खाना पकाउने भाँडावर्तन नै बोकेर बसेकी छिन् । मिजार परिवारले रातिको खाना पनि आफै बनाएका खाएका रहेछन् ।
मिजार दम्पत्ति जन्मजात देखि नै मलद्वार नभएका छोराका उपचार गराउन ६ दिनअघि जनकपुरबाट आएका रहेछन् । बाबुको पेटबाट प्वाल पारेर दिसा गराउने गरिएको रहेछ । यसकै लागि ६/७ महिनादेखि यो अस्पताल धाइरहेको मिजारले परदेश अनलाइन डटकमलाई बताए । ‘डाक्टरहरुले खै सकेसम्म छिटो अपरेशन गर्नुपर्छ भन्दै थिए । तर, अहिलेसम्म पालो नै आएको छैन’, उनले भने, ‘निजी अस्पतालमा लाने पैसा भएको भए यति अपरशेन गर्न यति धेरै समय लाग्ने थिएन कि जस्तो छ अब पैसा छैन दु:ख खेप्दै बसिरहेको छु ।’

रिपोर्ट लिने काउन्टर ।

पहिलेको कान्ति र अहिलेको कान्तिको अवस्था,
रुस सरकारले २०१९ सालमा स्थापना र सञ्चालन गरेर २०२६ मा नेपाल सरकारलाई जिम्मा लगाएको कान्ति बाल अस्पतालको विगत निकै उत्कृष्ट रहेको थियो । त्यो बेला राजा, जनता सबैले आफ्ना नानी बाबुहरुलाई उपचार गर्न कान्ति लैजाने गरेका थिए । कान्तिको सेवाको जताततै वाहवाही सुनिन्थ्यो । दिनदिनै काठमाडौंमा अन्य बाल उपचार केन्द्रहरु बढ्दै गएसँगै कान्ति बाल अस्पतालको दुर्दशा सुरु हुँदै गएको हो । ‘कालान्तरमा गरिबका बालबच्चा उपचार गर्ने सरकारी अस्पताल बन्न पुग्यो । यहीँ कार्यरत एक चिकित्सक भन्छन्, ‘सरकारले कान्तिमा ध्यान दिनै छाड्यो, गरिबका अस्पतालमा स्वस्थ्य मन्त्रीहरुको पनि आँखा पर्नै छाड्यो ।’
कान्तिमै कार्यरत चिकित्सकहरु नै अब यो अस्पताल पहिलेको अवस्थामा फर्कन्छन् भन्नेमा आशावादी देखिदैनन् । सबैको एकै मत छ– सरकारी बेवास्ताकै कारणले कुनै समय वाहवाही कमाएको कान्ति बाल अस्पताल अहिले दिनहुुँ धरासयी बन्दै गईरहेको छ ।

परदेश अनलाइन डटकमले पहिलेको र अहिलेको कान्ति बाल अस्पतालको अवस्थाबारे बुझ्ने कोसिस गर्दा विभिन्न ठाँउबाट सेवा लिन आएका सेवाग्राहीहरुको पनि निचोड त्यही आयो– कान्तिको यो दुर्दशा हुनुको मुख्य कारण सरकारी बेवास्ता नै हो । कान्तिमा अहिले बिरामीको चाप र सेवाका लागि जनशक्तिबीच ठूलो खाडल देखिन्छ । ध्वस्त संरचना र थोत्रिन लागेका उपकरणहरु यो अस्पतालको बिषेशता हुन पुगेको छ । राजनीतिक भागबण्डाबाट आएका कर्मचारीहरुको प्रशासनिक काम कमजोर रहेको छ ।

पानी नै नआउने शौचालयको धारा ।

स्वास्थ्य मन्त्री बनेका गगन थापाले कान्तिमा केही सुधारका कामहरु भने गरेका रहेछ । तर, गगन थापा स्वास्थमन्त्री हुँदा भएको अस्पताल सुधारको प्रयास उनको बहिर्गमनसँगै सकिएको रहेछ । त्यो बेला स्वास्थ्य मन्त्रालयले बजेट पठाएर आईसीयूमा वेड संख्या ५२ पुर्‍याएको देखिन्छ । करारमा पनि कर्मचारीहरु भर्ना गरिएको रेकर्ड रहेछ । तर, थापा मन्त्रीबाट हट्न साथ स्वास्थ्य मन्त्रालयले त्यो बजेट रोक्यो । करारका नयाँ कर्मचारीहरुले तलब नपाएर काम छाडे । आईसीयूको बेड घटेर ३२ शैय्यामा झारे । अहिले दैनिक ५ देखि ७ जना बिरामीलाई आईसीयूमा बेड नभएर अन्त जानुस् भन्न परेको एक चिकित्सकले बताए । कान्ति बाल अस्पतालको पुरानो र साँघुरो अपरेशन थिएटरमा दुईवटा मात्रै टेबल छन् । बिरामीको चाप अनुसार एक पटकमा १० भन्दा बढी बिरामीलाई अपरेशन थिएटरमा लैजानु पर्नेमा दुईवटा अपरेशन गर्न पनि असुविधा झेल्नुपरिरहेको छ ।

२०४२ सालको जनसङख्या हेरेर बनाएको अपरेशन थिएटरमै अझै काम गरिराख्नु परेको एक चिकित्सकले  सुनाए । ‘बिरामीले अपरेशनका लागि ७/८ महिना कुर्नुपर्ने मुख्य कारण यही हो’, उनले भने, ‘इमर्जेन्सीमा अपरेशन गर्नुपर्ने बिरामीलाई पनि अपरेन थिएटरकै कारणले फर्काउनु परिरहेको छ ।’ सरकारी अस्पतालमा गरिब तथा निमुखा वर्गका लागि निःशुल्क मेडिकल वार्ड छुट्याइन्छ । त्यस्तो वार्डमा भर्ना भएका बिरामीलाई औषधि उपचार र खानासमेत निःशुल्क खुवाईन्छ । कान्तिको मेडिकल वार्ड सधैँ भरिभराउ हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार एकजना चिकित्सकले एक घण्टामा बढीमा ४ जना बिरामी हेर्नुपर्छ । तर, कान्तिका चिकित्सकहरु घण्टामा १० देखि १५ जनासम्म बिरामी जाँच्न बाध्य छन् ।

इमर्जेन्सी सेवा लिनेहरुको भिड ।

अभाव नै अभाव, फोहरै नै फोहर,
कान्ति बाल अस्पताललाई फोहोरमैलाले पनि बेहाल बनाएको छ । अस्पतालबाट निस्केको फोहोर निर्मलीकरण त कता हो कता, सामान्य व्यवस्थापन समेत गर्न नसक्दा अस्पताल फोहोर बनेको छ ।
भूकम्पमा बिग्रेको डिप बोरिङ मर्मत नहुँदा धमिलो पानी चलाउन बाध्यता छन् । बजेट अभावमा अस्पतालले शौचालयका फुटेका पाइपहरु फेर्न समेत सकेको छैन । देशले कुनै गतिलो स्वास्थ्य मन्त्री पाए कान्ति बाल अस्पतालको पुरानो कान्ति फर्कन धेरै समय लाग्ने थिएन । ‘तर, गरिबलाई उपचार गराउने वार्डमा समेत आफ्नो मान्छेलाई उपचार गराउनु भन्दै नेताहरुले दबाव दिने गरेको एक जना चिकित्सकले बताए । यस्तै प्रवृत्तिले गर्दा पनि कान्तिलाई थला पारेको उनले बताए ।’

साथै मन्त्री फेर्ने बितिकै निर्देशक समेत फेर्ने प्रवृत्तिले पनि अस्पतालका लागि अभिशाप बन्ने गरेको छ । ‘यस्तो गतिविधिको निरन्तरताले कान्तिलाई झन्झन् भद्रगोल बनाउदै लगिरहेको छ ।’ नजिकै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर अब्बल अवस्थामा संचालनमा छन् । सरकारले प्राथमिकतामा राखेको त्यो अस्पतालले आफैं कमाइ पनि गरिरहेको छ । तर, गरिबका बालबच्चा आउने कान्ति अस्पतालको अवस्था भने बिजोग रहेको छ । कान्तिमा देशभरका गरिबका नानी बाबुहरु उपचारका लागि आउने भएकाले पनि सेवा शुल्क भने सहुलियत गरिएको छ ।