बुधबार, भदौ ०१ गते ।

मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले तीजमा टिकटक बनाएर रमाइलो गर्नु भन्दा महिलाका समस्या लगायत मुद्दा उठाउनु पर्ने बताएकी छिन् । महिलाका मुद्दा, बेदना र भावनाका चर्चा तीजमा हुनुपर्ने उनले बताइन् ।

नेपाल महिला संघ केन्द्रीय समितिले काठमाडौंमा मंगलबार गरेको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय तीजमा मौलिकता हराउँदै गइरहेको बताइन् । ‘तीजमा महिला अधिकार कुरा गरौं, महिलाका मुद्दा उठाऔं,’ उनले भनिन्, ‘तीजको महत्व र गरिमा घट्न दिन हुन्न । टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाका मुद्दा उठाऔं ।’

उनले स्थानीय तह चुनावको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको बताइन् । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि पार्टीलाई ठूलो बनाउनका लागि सबै जुट्नुपर्ने उनले बताइन् । ‘आमचुनावबाट कांग्रेसलाई एक नम्बरको पार्टी बनाउनु पर्छ । यसका लागि सबै जुटौं,’ उनले भनिन्, ‘चुनाव तयारीमा सबै इमान्दारिताका साथ लागौं ।’