बुधबार, भाद्र ०१ गते ।

मकवानपुर । ठेकेदारको लापरवाहीका कारण मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ मा निर्माणधिन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ ।

निर्माण कम्पनीले स्वास्थ्य चौकी निर्माणको काममा लापरवाही गरेको भन्दै स्थानीयले रोके सँगै भवन निर्माणको काम अलपत्र परेको हो । पटक – पटक गुणस्तरहीन काम भएको भनेर जानकारी गराउँदा समेत सम्बन्धित निकायले ध्यान नदिए पछि स्थानीयले भवन निर्माणमा नै अवरोध गरेका हुन् ।

गुरुकुल बिल्डर्स प्रा.लिसँग ४ कोठे स्वास्थ्य चौकी निर्माण गर्न गाउँपालिकाले २०७७ असोज २९ गते २५ लाख ८४ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता बमोजिम १ वर्ष भित्र काम सम्पन्न गरिसक्नु पर्ने कम्पनीले विभिन्न बहानामा दोस्रो पटक आगामी असोज १५ गते सम्मको लागि म्याद थप गरेको छ ।

थप म्याद सकिन लागि सक्दा समेत ठेकेदारले छत ढलान सम्मको काम सकेको छ भने भएका काम समेत गुणस्तरहीन रहेको पाइएको हो । भवनको पिल्लर निर्माण गर्दा भाइब्रेटर प्रयोग नै गरिएको छैन्, आधिकांश ढलान छठ देखिने गरि उक्किसकेको स्थानीय रामकुमार उप्रेतीले बताए । आवश्यक अनुपातमा सिमेन्टको प्रयोग समेत नगरिएको पिल्लर बाङ्गो हालेको र अन्य काम समेत गुणस्तरहीन गरेको कारण स्थानीयले काम नै गर्न रोकेको उप्रेतीले बताए ।

यता ठेकेदार कम्पनीले भने पहिलो किस्ता अन्तरगतको ४ लाख ५६ हजार रुपैयाँ लिइसकेको छ । दोस्रो किस्ताको लागि पालिकामा बिल पेश भएता पनि काम गुणस्तरहीन पाइएकाले रोकेको इन्जिनियर अभिषेक पाण्डेले बताए । यस विषयमा थप अनुगमन गरि आवश्यक प्रकिया अघि बढाइने उनले बताए । यो खबर अखबार हब अनलाइनमा रहेको छ ।