चेपाङ समुदायको रेडियो आफ्नोको पहिलो बार्षिकोत्सव सम्पन्न ।

बिहीबार, भदौ ०२ गते ।
मकवानपुर । सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी सञ्चालनमा आएको सामुदायिक रेडियो आफ्नो एफएम ८७ दशमलब ६ मेघाहर्जले बुधवार प्रथम बार्षिकोत्सव मनाएको छ । कालिका नगरपालिकाको शक्तिखोरबाट प्रशारण सुरु गरेको सो रेडियोले विभिन्न सामाजिक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सवको औपचारिक कार्यक्रममा रेडियोले दुई जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर तथा रेडियो सेट नियमित श्रोतालाई सम्मान गरेको स्टेशन म्यानेजर शिबकुमार चेपाङले बताए । बुद्धिराज तामाङ र लालबहादुर मगरलाई ह्विलचियर प्रदान गरिएको हो ।
बार्षिकोत्सवको अबसर पारेर सो रेडियोले पाँच दिने रेडियो प्रशिक्षण तथा युवा सशक्तिकरण तालिम सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले चेपाङ समुदायकै पहिलो रेडियो स्टेशनलाई नमुना सञ्चार माध्यमको रुपमा अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता गरे । वडा नं ३ का वडाध्यक्ष वीरेन्द्र तामाङ, वडा नं १० का वडाध्यक्ष नरजंग चेपाङ र वडा नं ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले रेडियोमा अरुले बोलेको सुन्ने चेपाङहरु अहिले आफै बोल्न पाउने अबस्था आएको बताए ।
कार्यक्रममा रेडियोका संयोजक विजय माबन्धरले चेपाङ समुदायका आवाज बुलन्द बनाउन रेडियो सञ्चालनमा ल्याइएको बताए । कार्यक्रममा रेडियोका कर्मचारी मदन प्रजाले रेडियोको बारेमा जानकारी गराएका थिए । रेडियोका अध्यक्ष मंगलसिंह प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला लामा, मौलाकालिका अस्पतालका प्रमुख डा.केशबराज भुर्तेल लगायतले मन्तव्य राखेका थिए । मानव विकास तथा सामुदायिक सेवा नामक संस्थाको सहयोगमा प्रजा एकता उत्थान समाजले सो रेडियो सञ्चालनमा ल्याएको हो ।