सोमबार, भदौ ०६ गते । 

मकवानपुर । मनहरी गाउँपालिकाको पुरानो महेन्द्र किरण माध्यमिक विद्यालयका प्रधानाध्यापक रााधालाल मण्डलले राजिनामा दिएका छन् । शैक्षिक सत्र २०७८ मा एसईईमा १ जना मात्र समुतिर्ण भएको भन्दै स्थानीय अभिभावकहरुले विद्यालयको प्रधानाध्यापक राधालाल मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल उप्रेतीको समेत राजिनामा माग गर्दै अनिश्चितकालका लागि विद्यालय बन्द गरेका थिए ।

गाउँपालिका अध्यक्ष, वडाध्यक्ष लगायतले राजीनामा दिएर प्रधानाध्यापक पदबाट हटेर अभिभावक र विद्यार्थीहरुको भावना बुझिदिन समेत मण्डललाई आग्रह गर्दा उहाँले अटेर गर्दै आइरहेकोमा सोमबार भने राजिनामा दिएका छन् । मनहरी गाउँपालिका ८ को कार्यालयमा भएको बैठकमा उनले राजिनामा दिएका हुन् । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले विद्यालयप्रति अभिभावक, विद्यार्थीहरुले राखेका गुनासो छ यो के हो ? भन्दै प्रधानाध्यापक मण्डललाई प्रश्न गरेका थिए ।

एसईईमा लज्जास्पद नतिजा आएको भन्दै नैतिकताका आधारमा राजिनामा दिन प्रधानाध्यापक मण्डललाई नैतिक दबाब परेको थियो । विद्यालय व्यवस्थापन समितिले पनि बैठकका निर्णयहरु कार्यान्वयन नगर्ने, समितिले दिएका जिम्मेवारी पूरा नगर्ने, विद्यालयको शैक्षिकस्तर खस्कदा समेत कुनै वास्ता नगरेको, अभिभावक, विद्यार्थी र शिक्षकहरुको गुनासोलाई समेत नसुनेको भन्ने गुनासासंगै विद्यालय व्यवस्थापन समितिका अध्यक्षको समेत राजिनामा माग गर्दा अध्यक्षले हालसम्म यसबारे प्रतिक्रिया दिएका छैनन् ।