बुवा,
शनिबार, भादौ ११ गते ।

मेरो सुन्दर भविष्य फुलाउन,
तिम्ले आफ्नो हातमा ठेला फुलायौ,
मेरो जीन्दगीको भारी बोक्न,
आफ्नो तालुमा नाम्लाको डाम बसायौ,
मेरा यात्राका काडाँहरु पन्छाउन,
तिम्ले आफ्नै खुट्टामा घाउ बनायौ ।

तिम्ले पांच  वर्ष अगाडी किनेको चप्पल
चार चोटी सिलाएर लाउदा,
मलाई जुत्ताको कमि कहिल्यै भएन
तिम्ले कहिले हो कहिले किनेको एक जोर कमिज
पाँच ठाउँ टालेर लाउँदा
मलाई नानाको कमी कहिल्यै भएन ।

जब म तिम्रो छातीमा टाउको टासेर सुत्दथे,
मलाई त्यो संसारको सबैभन्दा सुरक्षित ठाउँ लाग्थ्यो
जब म तिम्रो औला समातेर हिड्न खोज्थे
म कोशौं दुरीको यात्रा तय गर्न सक्छु, लाग्थ्यो ।

मेरा हरेक सपनाहरु तिम्रो सपना थियो
मेरा हरेक रहरहरु तिम्रो रहर थियो
भनौ – म नै तिम्रो रहर थियो, सपना थियो ।

हिजो म तिम्रो औला समातेर हिड्न सिके,
आज म तिम्रो सहारा दिने लौरो बन्न सकूँ,
तिम्रा चौरी परेका गालाका घोलहरुमा
खुसीको आँसु बगाउन सकूँ
र पुरा गर्न  सकु-म तिम्रै ती सपना र रहर
जसको लागि तिम्ले भुलेका थियौ
आफ्नै जिन्दगी,
आफ्नै रहर
अनि आफ्नै सपना ।।।

✍️कबि/लेखक : पासाङ तामाङ
राक्सिराङ्ग- ४ मकवानपुर