बुधबार, १५ गते ।

मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्लाको सदरमुकाममै सरकारले तोके भन्दा खाना पकाउने ग्यासको मूल्य साढे तीन सय बढीमा बिक्री हुँदै आएको छ । सदरमुकाममै व्यापारीहरूले चर्को मूल्यमा ग्यास बिक्री गर्ने हुँदा यहाँका उपभोक्ता मारमा परेका छन् ।

सरकारले खाना पकाउने ग्यासको मूल्य देशभर एक हजार ८ सय तोकेको भए पनि आपूर्तिमन्त्रीकै जिल्ला सदरमुकाममा व्यापारीहरूले तीनदेखि साढे तीन सय बढी मूल्यमा बिक्री गर्दै आएका छन् । यहाँका उपभोक्ताहरूले दुई हजार एक सय र दुई हजार एक सय ५० रुपैयाँमा ग्यास खरिद गरी उपभोग गरिरहेका छन् । सदरमुकामकै उपभोक्ता चर्को मूल्यमा ग्यास खरिद गर्न बाध्य भए पनि सरकारी निकाय मौन बसेको स्थानीय बताउँछन् ।

सरकारले तोकेको मूल्यभन्दा जिल्लामा ग्यासको मूल्य धेरै भएपछि विद्यार्थी र गरिब परिवारको भान्सा सधैं महँगो हुने गरेको महेन्द्र नमुना माविमा अध्ययनरत विद्यार्थी राहुल साहुले बताए । ‘हामीहरू ग्यासलगायतको दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक हुँदा खर्च चलाउन मुस्किल पर्छ,’ उनले भने, ‘गरिब परिवार र दुर्गम क्षेत्रमा सरकारले आफैंले तोकेको मूल्यमा ग्यास उपभोग गर्ने वातावरण बनाउनुपर्छ ।’

दैनिक जीवनमा प्रयोग हुने ग्यासमा चर्को मूल्य लिँदा उपभोक्ता मारमा परेका छन् । खाना पकाउने ग्यास बढी मूल्यमा बिक्री गर्दा निम्न आम्दानी भएका र विद्यार्थी मर्कामा परेका छन् । हुनेखानेले अन्य वस्तु गच्छेअनुसार प्रयोग गरे पनि सबैको चुलोमा बल्ने ग्यासको मूल्य यहाँका व्यापारीहरूले सरकारले तोकेभन्दा धेरै बढी मूल्यमा बिक्री हुने गरेको खलंगाका स्थानीय दानसिह चैसिरले बताए ।

प्रशासनलगायत जिल्लाका सरोकारवाला निकायहरू पटक–पटक बजार अनुगमन गर्छन् । ग्यासमा यति चर्को मूल्य उपभोक्ताबाट व्यापारीहरूले उठाउने भए पनि खासै चासो नपुर्‍याएको उनको भनाइ छ । खाना पकाउने ग्यासमा भाडा अनुदान नहुँदा जिल्लामा बिक्री गर्ने सबै व्यापारीले आफैंले भाडा तिरेर बिक्री गर्नुपर्दा सरकारले तोकेभन्दा बढीमा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् । तराईका ग्यास डिलरहरूले अत्तरियासम्मको मात्र भाडा उपलब्ध गराउँछन् ।

त्यसयताको भाडा व्यापारीले नै व्यहोर्नुपर्छ । व्यापारीका अनुसार अत्तरियादेखि दार्चुला सदरमुकामसम्मको भाडा प्रतिसिलिन्डर तीन सयसम्म पर्न जान्छ । यहाँका सबै सिलिन्डर व्यापारीहरूले भाडा अनुदान पाए सरकारले तोकेअनुसारको मूल्यमा उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने रेडियन्ट ग्यास दार्चुलाका विक्रेता मिलनराज अवस्थीले बताए ।

अवस्थीका अनुसार तराईबाट दार्चुलाको भाडा अहिले प्रतिकिलोग्राम ६ रुपैयाँ छ । ढुवानी गाडीले जिल्लाबाट रित्तो तराई झरे पनि भाडा लिन्छ । ‘एक सिलिन्डरको अपडाउन भाडा दुई सय ७० रुपैया पर्छ,’ अवस्थीले भने, ‘प्रतिसिलिन्डर लोड अनलोडमा २०/३० रुपैयाँ थप पर्छ ।
सैपाल ग्यास दार्चुलाका विक्रेता राजेन्द्रप्रसाद बडूका अनुसार खाना पकाउने ग्यास सिलिन्डर डिलरभन्दा व्यापारीबाट खरिद गर्न केही रुपैयाँ सस्तो पर्छ । ‘धनगढीको डिलर अत्तरियालाई भनेर सिलिन्डर खरिद गरे दार्चुलाका लागि भनेर किनेको भन्दा प्रतिसिलिन्डर ३ रुपैयाँ सस्तो पर्न जान्छ,’ उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा ढुवानीको भाडा धेरै भएकाले ग्यास महँगो पर्न गएको हो ।’