बिहीबार, भाद्र १६ गते ।

मकवानपुर । काठमाडौं फन पार्कले महानगरपालिकालाई कर बुझाएको छ । पार्कले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन करबापत १७ लाख ३६ हजार रुपैयाँ बुझाएको हो ।

महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले फनपार्कले एकतर्फी रूपमा मूल्यांकन गरेर कर बुझाएको बताए । उनले भने,‘ फनपार्कले सेल्फ डिक्लेरसन गरेर १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको छ । यसलाई भेरिफाइ गर्न बाँकी नै छ । फरक देखियो भने जरिवाना हुन्छ ।’

महानगरले मनोरञ्जन करमा प्रवेश शुल्कको ५ प्रतिशत लिने गरेको छ । पार्कले व्यवसाय कर २ लाख ६१ रुपैयाँ बिहीबार नै बुझाएको छ । अधिकारीका अनुसार फनपार्कले मासिक ५ लाख ५५ हजार रुपैयाँ समाज कल्याण परिषदलाई भाडा दिँदै आएको छ । त्यसको १० प्रतिशत बहाल कर परिषद्ले महानगरलाई तिनुपर्ने हुन्छ । परिषद्ले २०६९ सालदेखि पार्कले महानगरलाई बहाल कर बुझाएको छैन । २०६९ देखि २०७३ सम्म दुई प्रतिशत र २०७३ देखियता १० प्रतिशत रकम बहाल कर परिषद्ले तिर्नुपर्ने बताए ।

महानगरले निकालेको मोटामोटी हिसाबमा परिषद्ले बहाल कर मात्रै ४५ लाखभन्दा बढी तिर्नुपर्ने देखिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा कर तिर्न भन्दै विभागले पार्कलाई २४ घन्टाको अल्टिमेटम दिएर कर चुक्ता गर्न निर्देशन दिएको थियो ।