२८ जेठ, काठमाडौं । सेयर कर्नरिङ रोक्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नै असहयोग गरेको खुलेको छ । नेप्सले आवश्यक सूचना नदिएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)को भनाइ छ ।

कारोबारबारे सूचनाहरु नेप्सेले राख्छ । कारोबारका आधारमा कसले कहाँ बद्मासी ग¥यो भन्ने कुरा पत्ता लगाउन नेप्सेले सक्छ । यहाँ बद्मासी भएको छ भनेर नेप्सले सूचना दिँदा कारबाही गर्न सहज हुने बोर्डका अधिकारीहरु बताउँछन् । यसमा नेप्सले विगतदेखि नै सहयोग नगरेको उनीहरु बताउँछन् ।

पछिल्लो समय सेयर बजारमा कारोबार रकम दैनिक १७ अर्ब रुपैयाँभन्दा माथि पुग्न थालेपछि बोर्डले शंकाले हेरेको छ । बोर्डले २९औं वार्षिकोत्सवकै दिन विज्ञप्ति नै निकालेर सेयर बजारमा कर्नरिङ हुने गरेको बताएको छ ।

यस विषयमा अध्ययन पनि थालेको बताएको बोर्डले लगानीकर्ताहरुलाई सजगता अपनाउन आग्रह गरेको छ । बोर्डको २९ बर्षको इतिहासमा कर्नरिङ गर्नेलाई कारबाही गर्न सकेको छैन ।