कुमरखोद, चैत ९। झापा गाउँपालिकमा आईतबार राती २ बजे जंगली हात्तीको समुह आएर एक व्याक्तिको भान्सा घर भत्काएको छ । झापा गाउँपालिका वडा नं – ५ पंथापडा वजार देखि दक्षिणपट्टि रहेको मेचे गाउँमा रातको समयमा जंगली हात्ती आएर मोतीउर रहमानको टिनको भान्सा घर पुरै भत्काई दिएको हो ।

रहमानका अनुसार जुनेली रात भएकोले घरको वरपरि हात्ती मात्रै देखिन्थ्यो । उनले भने, “घरको छेउमा लगाएको केराको बोटहरु खान थालेपछि हामी आत्तिएका थियौ र डरले चिच्यायौं र त्यसपछि हात्तीले हाम्रो भान्सा घर भत्काउन थालेको थियो । हामीले चिच्याएपछि गाउँका मानिसहरु जम्मा भएर आगो बालेपछि हात्तीहरु भागेका थिए ।”

हात्तीले लगाएको सब्जी बाली खाएर किल्चेर लगभग ३०–४० हजार रुपैंया बराबरको नोक्सान पुर्याएको छ भने रहमानले लगाएको १० कठ्ठा मकैबालीमा समेत नोक्सान गरेको छ । रातको समयमा ७ वटा जंगली हात्तीले आतंक मच्चाउँदा किसानले लगाएको २–३ बिगाहा मकैबाली किल्चेर तथा खाएर नोक्सान गरेको रहमानका ज्वाई सद्दाम आलमले बताएका छन् ।

राती नै शसस्त्र प्रहरी बिओपी पंथापडा, जनपद प्रहरी चौकी पन्थापडा र स्थानीयहरु मिलेर जंगली हात्तीलाई गाउँबाट धपाउन सफल भएका थिए भने मानवीय क्षति नभएको पंथापडा चौकीका प्रहरी सहायक निरीक्षक मोहन कुमार तामाङले जानकारी दिए ।