२६ जेठ, काठमाडौं । ललितपुरको एक परिवारका सबै सदस्यलाई वैशाख तेस्रो साता कोरोना संक्रमण पुष्टि भयो । १४ दिन होम आइसोलेसनमा बसे, तीन वर्षको छोरासहित सबै संक्रमण मुक्त भए ।

जेठको दोस्रो साता बच्चालाई हल्का ज्वरो आयो । ज्वरो सामान्य बेलामा भन्दा फरक भएकाले यसअघि पनि देखाइरहेका चिकित्सकलाई फोन गरे । डाक्टरले भने, ‘भाइरल हुनसक्छ, पारासिटामोल खुवाउनुस् ।’ पारासिटामोलले ज्वरो घटेन, बरु १०३ सम्म पुग्यो । औषधि खाएको केहीबेर ज्वरो घटे जस्तो हुन्थ्यो, फेरि आउँथ्यो ।

१५ जेठको विहान बालरोग विशेषज्ञ डाक्टर अरुण शर्मा कहाँ पुगे । त्यो दिन बच्चाको आँखा रातो हुनुका साथै जिब्रोमा खटिरा आएको थियो । ओठ पनि अरुबेला भन्दा भिन्न देखिएको थियो । डा. शर्माले पोष्ट कोभिड इन्फेक्सनको आशंका गर्दै परीक्षणहरु गराए ।