गृहमन्त्री खगराज अधिकारीले प्रहरीलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका अधिकारीले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबै भन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिए । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।