कास्की जिल्लाको उत्तर पूर्वी भागमा पर्ने गाउँ हो मादी गाउँपालिका । अन्नपूर्ण हिमालको मुन्तिर रहेको मादीमा विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको असर उति साह्रो परेको छैन । 
कृषिमा निर्भर गाउँ मादी अहिले खेतिपातीमा व्यस्त छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोक्न भने गाउँपालिकाले गाउँ प्रवेश गर्ने नाका कडा पारेको छ । 

कोरोना भाइरसले दिएको चोटबाट माथि उठ्ने योजना पनि गाउँपालिकाले बनाई रहेको छ । कृषि पेशामा निर्भर भएकाले पनि आगामी वर्षको बजेटमा मादी गाउँपालिकाले बजेटमा कृषिलाई नै जोड दिने योजना बनाइरहेको छ । 
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङका अनुसार मादीमा यतिबेला खेतीपातिको काम भई रहेको छ । सहरसँग सीमा जोडिए पनि आफ्नो गाउँपालिकामा कोरोना भाइरसको असर त्यति नपरेको उनी बताउँछन् । ‘सहरदेखि टाढा भएर पनि होला हामीलाई लकडाउनको त्यति असर परेको छैन,’ उनले भने ।