जनता समाजवादी पार्टी नेपालमा देखिएको आन्तरिक विवादको असर केन्द्रमा मात्र होइन, प्रदेशसम्म देखिएको छ  । शनिबार केन्द्रीय सरकारमा महन्थ ठाकुर पक्षका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथग्रहण गरेपछि आइतबार प्रदेश २ मा उपेन्द्र यादव पक्षको प्रदेशसभाको संसदीय दलको बैठकले महन्थ ठाकुर पक्षका जितेन्द्र सोनलसहित अन्य तीनजना राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेको छ । यी दुई घटनाले जसपा नेपाल दुई चिरा बनेको प्रष्ट रुपमा देखिएको छ । महन्थ ठाकुर पक्षमा प्रदेशमा २५ जना सांसद थिए । जसमध्ये सातजना सांसद उपेन्द्र यादवको पक्षमा लागेका छन् । यसले गर्दा बहुमतको निर्णयले हिजो संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ भने मन्त्रीमण्डलमा जिम्मेवारी हेरफेर पनि गरेको छ ।