शुक्रबार, भदौ ०३ गते ।

मकवानपुर । मनहरी गाउँपालिका ७ मकवानपुरको एभर हेल्दी फार्मेसीमा उपचाररत बिरामीको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । मनहरी गाउँपालिका ७ बिजौना माने डाडाका ४५ वर्षीय उमेश कुमार ब्लोनको उपचारको क्रममा आज मृत्यु भएको हो । आफन्तले चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको भन्दै अहिले मनहरी तनावग्रस्त छ ।

केहि महिना अघि पनि सोही फार्मेसीमा उपचारको क्रममा राक्सिराङ्गको एक जना चेपाङको मृत्यु भएको थियो । मृतकलाई चाहिने भन्दा बढी डोजको इन्जेक्सन लगाएपछी मृत्यु भएको भन्दै आफन्तहरुले फार्मेसी घेराउ गरेका थिए । चेपाङको मृत्यु भएको केही महिना पछि पुनः उपचार गराउन ल्याएको बिरामीको मृत्यु भएपछी फार्मेसीले प्रदान गर्ने स्वास्थ्य सेवाप्रती नै प्रश्न उठ्न थालेको स्थानीयहरु बताउछन् ।

फार्मेसी जस्तो संवेदनशिल ठाउँमा बिरामीको उपचारमा हेलचेक्राई गरेको भन्दै मृतकका आफन्तले चिकित्सकलाई कारबाहीसहित क्षतिपूर्ती दिनुपर्ने माग राखेका छन् । फार्मेसीकै लापरवाहीले आफ्नो बिरामीको मृत्यु भएको परिवारजनको आरोप छ ।

मृतकका आफन्तले फार्मेसीमा नाराबाजीसमेत गरेका छन् । घटनाको छानबीन, दोषी चिकित्सकमाथि कारवाही, मृतकलाई क्षतिपूर्ति एवम् फार्मेसीको लाइसेन्स खारेजीको माग आफन्तले गरेका हुन् । साथै उनीहरूले शव उठाउन पनि मानेका छैनन् । घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नउठाउने समेत उनीहरूको अडान छ । अहिले शवलाई मनहरी अस्पतालमा राखिएको छ ।