✍️अशोक लामा,

शनिबार, साउन २१ गते ।

मकवानपुर । कृषिप्रधान हाम्रो देश नेपालमा आधुनिक प्रबिधिसगै भित्रिएका कृषि उपकरणको बढ्दो क्रमले यतिखेर धेरै जसो स्थानमा हलोको प्रयोग हुन छोडेका छन् । नेपालको धेरै जसो ग्रामीण स्थानहरुमा पछिल्लो समयमा किसानहरुले हलो छोडेर हाते मिनि टेलर प्रयोग गर्न थालेका छन् । साथै समथर स्थानहरुमा ट्याक्टरको प्रयोग बढ्दै गईरहेको पाइन्छ ।

ग्रामीण भेगको टारी खेतमा अग्ला कन्ला तथा साघुरो गराहरु हुने भएकाले केहि स्थानमा भने अझै पनि गोरुको प्रयोग हुने गरेको पाइन्छ । अहिले समथर स्थानका लागि ट्याक्टरको प्रयोग बरदान नै बनिरहेको छ । राम्रो मलिलो खेतमा यसको प्रयोगले जमिनको भित्री रुखो माटो बाहिर ल्याउने हुँदा उत्पादनमा प्रत्यक्ष असर पार्ने गरेको राक्सिराङ्ग चैनपुरका किसान कृष्ण बहादुर चेपाङ बताउछन् । “चैनपुरको विभिन्न स्थानहरुको फाटका मलिलो खेतमा ट्याक्टरको प्रयोगले भित्रि रुखो माटो निकाल्ने गरेको मेरो अनुभब छ”, उनले अझै भने, “अन्य ग्रेगानयुक्त ढुङ्गे खेतका लागि भने यसको प्रयोगले खेति गर्न सजिलोका साथै उत्पादन बढाएको पनि हामीलाई सुनाए ।” 

खनजोतका लागि आधुनिक उपकरणको बढ्दो प्रयोगसगै ती उपकरण सजिलै लैजान नसकिने ठाँउका खेतबारी भने बाझै रहन थालेको किसानहरु बताउछन् । पछिल्लो केही बर्षयता देखि त स्थानीय किसानले गाई पाल्न समेत छाडिएका कारण जोत्नका लागि गोरु पाउन पनि मुस्किल छ । विगतमा राक्सिराङ्ग र नजिकैको गाउँपालिकाहरु मनहरी र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा गोरुको राम्रो खरिदबिक्री हुने गरेकोमा अहिले भने ती स्थानहरुमा पनि धेरै जसोले गाई पाल्न छाडेका छन् । यस स्थानमा विकासी जातका गाईका बाच्छाहरुलाई गोरुका रुपमा प्रयोग गरिदैन । ग्रामीण स्थानमा दाइ हाल्नका लागि पनि गोरुको अभाव हुँदा समस्य पर्ने गरेको स्थानीय किसानहरु बताउँछन् । एउटा गोरु किन्न सामान्यत: रु २५ देखि ३५ हजारसम्म खर्चनु पर्ने किसानहरु बताउछन्   । गोरुको अभावसगै पछिल्लो बर्षमा परम्परागत काठे हलो बनाउने ब्यक्तिको पनि अभाव हुँदै गएको हो ।

परम्परागत पेशा पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु साथै त्यसबाट दैनिक जिवन निर्वाहमा समेत खासै परिवर्तन ल्याउन नसक्ने भएपछि हलो किन्नका लागि पनि मुस्किल हुने गरेको अर्का किसान रमेश लामाले बताए । “हलो बनाउनका सीप उतिकै आवश्यक पर्दछ, पछिल्लो पुस्तामा यसतर्फ चासो नदेखिएका कारण अहिले हलो सहज रूपमा किन्नका लागि पाउन सकिदैन”, उनले भने । नयाँ प्रबिधिका ट्याक्टर भित्रिए पनि त्यसलाई चलाउन सक्ने सिपका साथै सामान्य विग्रदा मर्मत गर्न समेत समस्य हुँदा कतिपय स्थानहरुमा भने हलोको प्रयोग चाहेर पनि चटक्कै छोड्न नसकिएको किसानहरुको अनुभव छ । त्यस्तै गाउँका टारी खेतमा मिनि टेलर बोकेर तलमाथि गर्नुका साथै चलाउने सिपको अभाव र मर्मतको अज्ञानता रहेको लामाको भनाई छ ।

पछिल्लो केही समयदेखि ट्याक्टर एवम् टेलरको प्रयोग किसानका लागि बरदान सावित भएको मनहरीका किसान पदम पौडेल बताउछन् । आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाएको सुनाउदै उनले विगत ९/१० बर्ष यता ती उपकरणको खरिदमा सरकारका तर्फबाट अनुदान सहयोग उपलब्ध गराउन थालिएको बताए । गोरुका लागि घास काट्ने, खुवाउने र चराउने गर्नुपर्ने भए पनि ट्याक्टर, मिनिटेलरको प्रयोग गर्दा उक्त समस्यहरु समाधान भएको किसानहरु बताउँछन् । छिटो समयमा धेरै काम गर्न सकिने भएको कारणले पनि यस पेशातर्फ धेरै किसानहरुको आकर्षक बर्सेनि बढ्दै गएको हो ।